
नेकपा एमालेको आठौं महाधिवेशनको महासचिव झलनाथ खनालले उद्घाटन गरेका छन्। बुद्धको जन्मस्थल लुम्बिनीमा बिहान प्रज्ज्वलन गरी ल्याइएको ज्योतिबाट महासचिव खनालले दीप प्रज्वलन गरी महाधिवेशन उद्घाटन गरेका हुन्। सुरुमा एमाले नेता भरतमोहन अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासहितका नेतालाई आसन ग्रहण गराए। त्यसपछि नेता भीम रावलले विदेशी अतिथीलाई आसन ग्रहण गराए। सुरुमा राष्ट्रिय गान गाइयो र त्यसपछि शहीदलाई श्रद्धाञ्जली अर्पण गरियो।उद्घाटन समारोहमा सभापति कोइरालाले भने- ´सहकार्यबाट रुपान्तरण गरौं भनेको प्रचण्डलाई अलिक अप्ठेरो भएको जस्तो छ। तर अहिलेको आवश्कयता त्यही हो।´ कोइरालाले थपे, ´आजबाट सहमति गरौं। अब सँगै बढौं। नेपालमा अस्थिरता भए छिमेकीलाई पनि राम्रो हुन्न भन्ने कुरा मैले विदेशी भारतीय र चिनीयाँलाई पनि भन्ने गरेको छु।´राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले राष्ट्रियताको सबाल कमजोर भएको भन्दै यो महाधिवेशनले त्यसलाई मजबुत बनाओस् भन्ने शुभकामना दिए। नेकपा मसालका नेता चित्रबहादुर के सीले देशको स्वाधिनतामा असर पर्ने काम भइरहेको भन्दै सबै दल एक ठाउँमा भएर अगाडि बढ्नु पर्ने बताए। उद्घाटन समारोहमा मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी, नेकपा माले, राष्टिय जनमोर्चा, नेकपा एकीकृत, नेकपा संयुक्त, सद्भावना पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्टिय प्रजातन्त्र पार्टी, राष्टिय जनशक्ति पार्टीलगायतका शीर्ष नेता सहभागी छन्। महाधिवेशनमा भाग लिन १४ देशका कम्युनिष्ट श्रमिक र समाजवादी गरी २१ पार्टीका ४० नेता सहभागी छन्। कम्युनिष्ट पार्टी अफ बंगलादेश, वर्कस पार्टी अफ बंगलादेश, सोसलिष्ट पार्टी अफ बंगलादेश, चिनियाँ कम्युनिष्ट पार्टी, भारतीय कम्युनिष्ट पार्टी (माक्स्रवादी), भारतीय कम्युनिष्ट पार्टी (माले), अल इन्डिया फरवार्ड ब्लक, इराकी कम्युनिष्ट पार्टी, कम्युनिष्ट पार्टी अफ पाकिस्तान, कम्युनिष्ट पार्टी अफ श्रीलंका, जेभीपी श्रीलंका, कम्युनिष्ट पार्टी अफ भियतनाम, एमएलपीडी जर्मनी, जीसीपी जर्मनी, केकेई ग्रीस, रिफाउन्डेसन इटाली, सोसलिष्ट पार्टी अफ नर्वे, कम्युनिष्ट पार्टी अफ रसिया, लेफट पार्टी स्वीडेन र कम्युनिष्ट पार्टी अफ स्पेनका अतिथि छन्।त्यस्तै पाकिस्तान, फिनल्यान्ड, ब्राजिल, स्वीडेन, लाओस, जापान, फ्रान्स र बेल्जियमका विभिन्न पार्टीले लिखित शुधकामना पठाएको जानकारी पोखरेलले दिए।बुटवल मण्डपमा अवस्थित महाधिवेशनस्थल २२ बिघा क्षेत्रफलमा फैलिएको छ।
No comments:
Post a Comment