गत सोमबार ३ जनाको ज्यान जानेगरी बबरमहलमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ। महानगरीय प्रहरी आयुक्तको कार्यालयमा घटनाको छानबिन गर्न गठित समितिले आज पत्रकार सम्मेलन गर्दै संलग्नहरुको नाम सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरुमा भीमबहादुर तामाङ, निमा तामाङ, बुद्धिबहादुर गोले, प्रेम तामाङ, सुरेश लामा र सागर लामा छन्।पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विस्फोट हुनु एक घण्टाअगाडि प्रेम तामाङ, सागर लामा र सुरेश लामाले बबरमहलमा बम राखेका थिए।
निमा तामाङ, भीमबहादुर तामाङ र बुद्धिबहादुर गोलेले विस्फोट गराउने स्थान छनौट, बम बनाउने र योजना बनाउने काम गरेका थिए। घटनाका मुख्य योजनाकार देवराज लामा भएको प्रहरीले बताएको छ। उनी हाल फरार छन्। विस्फोटमा भीमबहादुर तामाङले संयोजनकारी भूमिका निभाएका थिए।
विस्फोटक पदार्थ ल्याउने, बम बनाउने सबै काम भीमबहादुर तामाङले गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। उनीहरुले सिनामङ्गलस्थित भीमबहादुर तामाङको घरमा बम बनाउने र योजना बनाउने काम गरेका थिए। बम विस्फोटअगाडि विभिन्न संघसंस्थाहरुसँग मोटो रकम चन्दा मागेको र चन्दाका लागि आनाकानी गरेपछि त्रास फैलाउन विस्फोटको योजना बनाएको प्रहरीले बतायो। विस्फोटपछि उनीहरुले ती व्यापारीहरुलाई पुनः फोन गरी रकम मागेका थिए।
प्रहरीले शुक्रबार सिनामंगलको डेराबाट जिलेटिनको १० गोला, बम बनाउन प्रयोग हुने प्रेसर कुकर विस्फोट गर्न प्रयोग हुने तारहरुसमेत बरामद गरेको छ। उनीहरु सोही कोठामा बसेर उपत्यकाका अन्य स्थानमा समेत बम विस्फोटको योजना बनाइरहेको विशेष अनुसन्धान समितिका संयोजक डीआइजी उपेन्द्रकान्त अर्यालले बताए।
विस्फोटको घटनामा संयुक्त जातीय मुक्ति मोर्चा विभाजित देखिए पनि यो उनीहरुको घटना लुकाउने रणनीति मात्र देखिएको आयोगको दावी छ।
पत्रकार सम्मेलनमा पक्राउ परेका अभियुक्तहरुले आफूहरुले जातीय मुक्तिका लागि आन्दोलन गरेको बताए। ुहामी आतंककारी हैनौँु, उनीहरुले बताए, ुहामी राजनीतिक व्यक्ति हौँ, प्रहरीले बरामद गरेको विस्फोटक पदार्थ हाम्रो हैन।
गत सोमबार भएको विस्फोटमा कृष्ण तामाङ र मानबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको थियो। त्यसैगरी वीरबहादुर तामाङको अस्पतालमा मृत्यु भएको थियो।
No comments:
Post a Comment