Tuesday, March 06, 2012

कांग्रेसले जातीय आधारमा हुने संघलाई अस्वीकार गर्ने


प्रमुख प्रतिपक्ष कांग्रेसले संघीयता जातीय आधारमा हुन नसक्ने बताएको छ । तराई केन्द्रित १६ जिल्लाका नेता तथा कार्यकर्ताबीच मंगलबार भएको अन्तक्रिर्या र छलफलपछि कांग्रेस जातीय आधारमा हुने संघलाई अस्वीकार गर्ने टुंगोमा पुगेको हो ।
मधेसी नेता तथा कार्यकर्ताले नै जातीय आधारमा संघीयतामा नजान नेतृत्वलाई दबाब दिएका थिए । कांग्रेस सभापति सुशील कोइरालाले अब बहुजातीय र बहुभाषिक प्रदेश बनाउनुपर्छ भन्ने पार्टीको संस्थागत धारणा हुने बताए । पार्टीले यसअघि पटक(पटक छलफल गरे पनि संघीयताबारे संस्थागत धारणा ल्याउन सकेको थिएन । इटहरी भेलापछि कांग्रेसले सातभन्दा बढी प्रदेश निर्माण गर्न नहुने निष्कर्षसमेत निकालेको छ । स्थानीय नेता तथा कार्यकर्ताले बहुजातीय,बहुभाषीको आधारमा संघ निर्माण गर्नुपर्ने, संघको संख्या सातभन्दा बढी बनाउन नहुने र सीमांकन गर्दा जिल्ला टुक्र्याउन नपाइने धारणा व्यक्त गरेका थिए । कांग्रेस सभापति कोइरालाले जातीय आधारमा संघीयतामा जाँदा धेरै देशहरू टुक्रेको बताउँदै थोरै र सबैलाई समेट्ने ढंगको राज्य पुनर्संरचना गरिनुपर्ने बताए । हिमाल, पहाड र तराई तीनै प्रदेशबीच कसरी विश्वासको वातावरण बनाउन सकिन्छ भनेर कांग्रेसले तराईको विचार लिन यो भेला गरेको हो,उनले भने । कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले गरेको भेलामा राज्य पुनर्संरचनाको बहस र कांग्रेसको भूमिका बारेमा गगन थापा र शान्ति प्रक्रिया र कांग्रेसको भूमिकाबारे मिनेन्द्र रिजालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
बन्दसत्रमा बोल्ने अधिकांश सदस्यले पार्टीले माओवादीसँग आत्मसमर्पण गरेको,जातीय सवालमा गम्भीर नभएको,संगठन विस्तारमा कमजोर रहेको भन्दै नेतृत्वको आलोचना गरेका थिए । उद्घाटनपछि बन्दसत्रमा कार्यकर्तासँग छलफल गरिएको थियो । कार्यपत्रमाथि छलफल गर्न र सुझाव लिन सहभागीलाई समूहहरूमा विभाजन गरिएको थियो । हामी जातीय राज्यको पक्षमा छैनौं,यसको अर्थ संघीयताविरोधी होइनौं, कोइरालाले भने,संघीयता र शासकीय स्वरूपमा जातीयता प्रवेश भएपछि सोभियत संघ, अफ्रिकाका धेरै मुलुक विभाजित भएको उदाहरण हामीले बिर्सनु हुन्न ।
उनले कांग्रेसकै बाटोमा अन्य दलहरू पनि आउने विश्वाससमेत लिए । पार्टी उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेलले जातीय आधारमा हुने संघीयता अस्वीकार्य रहेको नीति नै कांग्रेसको आधिकारिक नीति भएको बताए । ुहामी बेलायतको जस्तो प्रजातन्त्र खोजिरहेका छैनौं,उनले भने,राष्ट्र,राष्ट्रियता,प्रजातन्त्र र समाजवादभित्र सबै जाति र धर्मको प्रतिनिधित्व होस्, अधिकार स्थापित होस् भनिरहेका छौं ।
भेलामा पूर्वाञ्चलका १६ वटै जिल्लास्थित ५६ निर्वाचन क्षेत्रका महासमिति,र महाधिवेशन प्रतिनिधि, जिल्ला सभापति, संविधानसभामा निर्वाचित र मनोनीत सभासद, पूर्वाञ्चलस्थित केन्द्रीय सदस्य र पदाधिकारीको सहभागिता छ । बन्दसत्रमा नेतृत्वको आलोचना गर्दै सिरहाकी सभापति सीतादेवी यादवले तराई केन्द्रित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् । उनले आफ्ना श्रीमान्लाई माओवादीले गोली हानी मारेको प्रसंग कोट्टयाउँदै कांग्रेसले शान्तिका नाममा माओवादीसँग बढी घुँडा टेकेको आरोप लगाइन् । भोजपुर कांग्रेसका महाधिवेशन प्रतिनिधि शक्तिराज राईले माओवादी त्रासका कारण जिल्ला तथा गाउँस्तरसम्म संगठन बलियो बनाउन नसकेको बताए ।

No comments: