गत सोमबार ३ जनाको ज्यान जानेगरी बबरमहलमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ। महानगरीय प्रहरी आयुक्तको कार्यालयमा घटनाको छानबिन गर्न गठित समितिले आज पत्रकार सम्मेलन गर्दै संलग्नहरुको नाम सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरुमा भीमबहादुर तामाङ, निमा तामाङ, बुद्धिबहादुर गोले, प्रेम तामाङ, सुरेश लामा र सागर लामा छन्।पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विस्फोट हुनु एक घण्टाअगाडि प्रेम तामाङ, सागर लामा र सुरेश लामाले बबरमहलमा बम राखेका थिए।
निमा तामाङ, भीमबहादुर तामाङ र बुद्धिबहादुर गोलेले विस्फोट गराउने स्थान छनौट, बम बनाउने र योजना बनाउने काम गरेका थिए। घटनाका मुख्य योजनाकार देवराज लामा भएको प्रहरीले बताएको छ। उनी हाल फरार छन्। विस्फोटमा भीमबहादुर तामाङले संयोजनकारी भूमिका निभाएका थिए।








