Saturday, December 01, 2007

कांग्रेसमै अडकिएको छ- भट्टराई


राजनीतिक सहमतिका लागि दलहरु बैठक बस्नु केही अघि माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसले राजनीतिक दृष्टिकोण प्रस्तुत गरिनसकेका कारण आजै सहमति हुने सम्भावना नरहेको बताएका छन् । नेता भट्टराईले संसदले पारित गरेका दुई प्रस्तावको कार्यन्वयनबारे नेपाली कांग्रेसको दृष्टिकोण आएपछि मात्र सहमति हुने या नहुनेबारे भन्न सकिने बताए । यद्यपि, यस अघिका छलफल र वार्ताभन्दा यो पटकको छलफल एजेण्डामा आधारित भएकाले स्थिति केही सकारात्मक रहेको उनको भनाइ थियो ।

सहमतिको सम्भावना बढेको नेपालको ठहर

एमाले सांसदहरुले पार्टीको स्वतन्त्र पहिचान कायम राख्नुपर्ने तथा माओवादीको उपयोगवादी नीतिसँग सतर्क रहनुपर्ने बताएका छन् । मङ्सिर १४ गते सिंहदरवारस्थित संसदीय दलको कार्यलयमा भएको दलको बैठकमा एमाले सांसदहरुले नेतृत्वका पछिल्ला निर्णयहररुले पार्टीको स्वतन्त्र पहिचान संकटमा पर्न सक्ने आशंका गर्दै त्यस्तो धारणा राखेका हुन् । उनीहरुले पार्टीका नेताहरुबीचको मतभेद सार्वजनिक भएकोमा तिब्र असन्तुष्टि पनि ब्यक्त गरेका थिए ।
एमाले महासचिव माधवकुमार नेपालले अन्तरिम संसदको बिशेष अधिवेशनमा माओवादीसँग मत साटासाट गर्ने निर्णयको पक्षमा तर्क राखेका थिए । दलहरुबीच सहमतिको सुत्र नबनिसकेको भए पनि सहमतिको सम्भावना पहिलेभन्दा केही बढेको नेपालको भनाइ थियो । सहमतिको प्रयास गर्दागर्दै लामो समय बित्ने तथा सहमति नबन्ने र चुनाव पनि नहुने सम्भावना रहेको पनि कार्यक्रममा नेपालले बताए । एमाले केन्द्रीय सदस्य तथा सांसद गोकर्ण बिष्टका अनुसार, संविधानसभा चुनाव यसै वर्ष गर्न पार्टीले सम्पूर्ण ध्यान केन्द्रित गरेको तथा त्यसैमा पार्टी लागेको पनि कार्यक्रममा नेपालको भनाइ थियो ।

Thursday, November 29, 2007

अपहरणकारीलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नोवल एकेडेमी र नोवल मेडिकल कलेजका संचालक तथा पदाधिकारीलाई अपहरण तथा कुटपिट गर्नेलाई तत्काल कारवाही गर्न गृहमन्त्रीलाई निर्देशन दिएका छन् । मङ्सिर ११ गते आफ्नो निवास बालुवाटारमा अपहरणकारीलाई कारवाही गर्नुपर्ने माग उल्लेखित ज्ञापनपत्र लिएर आएका उच्च माध्यमिक विद्यालय आन्दोलन समितिका पदाधिकारीका अघि प्रधानमन्त्रीले गृहमन्त्रीलाई यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको निर्देशनपछि गृहमन्त्री कृष्णप्रसाद सिटौलाले अपहरणकारीलाई 'एक दुई दिन भित्रै' पक्राउ गरि कारवाही गर्ने बताएका थिए । । मङ्सिर २ गते माओवादी कार्यकर्ताहरुले आफ्नो पार्टीका नेता वर्षामान पुन अनन्तले बोलाएको भन्दै नोवल एकेडेमी र नोवल मेडिकल कलेजका संचालक तथा पदाधिकारीहरु ज्ञानेन्द्र गिरी, नवराज पाण्डे, आदित्य खनाल, उमेश पाण्डे र जनक रिजाललाई काभ्रे कामिडाँडा पुर्याएका थिए । १४ घण्टासम्म बयानका नाममा यातना दिएपछि उनीहरुलाई छाडिएको थियो । संस्थाकै अर्का लगानीकर्ता सुनिल शर्माको भनाइमा लागेर आफुहरुलाई माओवादीले अपहरण र यातना दिएको अपहरितहरुको भनाइ छ ।