Wednesday, December 03, 2008

माओवादी मन्त्री देव गुरुङ्गको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक समिति गठन

सरकार सञ्चालनका लागि सुझाव दिने उद्देश्यले माओवादी नेता देव गुरुङको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ ६ दलको बैठकले संयन्त्र गठन गरेको हो। अस्थायी रुपमा गुरुङलाई संयोजक तोकिए पनि स्थायीरुपमा पछि संयोजक तोकिने सहमति बैठकले गरेको छ। संयन्त्रमा माओवादीका तर्फबाट अर्का नेता वर्षमान पुन अनन्त सहभागी हुनुहुन्छ भने एमालेका तर्फबाट पूर्व महासचिव माधवकुमार नेपाल र सुरेन्द्र पाण्डे सदस्य हुनुहुन्छ। यस्तै, संयन्त्रमा मधेसी जनअधिकार फोरमका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र शरदसिंह भण्डारी, सद्भावना पार्टीका तर्फबाट सहअध्यक्ष लक्ष्मणलाल कर्ण र रामनारायण सिंह, जनमोर्चाका तर्फबाट लीलामण पोखरेल र गिरिराजमणि पोखरेल तथा नेकपा संयुक्तका तर्फबाट चन्द्रदेव जोशी र सुनील मानन्धर रहनुभएको छ। एमालेका तर्फबाट पूर्व महासचिव माधवकुमार नेपालको नाम पार्टीले पठाए पनि उहाँ भने आजको बैठकमा सहभागी नहुनुभएको स्रोतले बताएको छ। संयन्त्रमा सत्तारुढ ६ दलबाट दुई जनाका दरले प्रतिनिधि राख्ने निर्णय दलहरुले गरेका थिए।

रामहरिका हत्याराको निलम्बन फुकुवा

जनसेनाको चितवन शक्तिखोरस्थित शिविरलाई मानव बधशालाका रूपमा प्रयोग गर्दै आएको आरोपमा राज्यद्वारा पक्राउ पूर्जी जारी गरिएका कालीबहादुर खाम माओवादीको हालै सम्पन्न भेलामा सम्मानित भएपछि हत्यारा र अपराधीहरूको मनोबल बढेको छ। चार महिनाअघि व्यवसायी रामहरि श्रेष्ठलाई विविधको नेतृत्वमा काठमाडौं कोटेश्वरबाट पक्राउ गरी चितवन शक्तिखोरस्थित सेनाको शिविरभित्र लगेर हत्या गरिएको थियो। विविध शक्तिखोरस्थित माओवादी जनसैनिक शिविरका कमान्डर हुन्। हत्यामा संलग्न विविधलाई पार्टीले कारबाही गरिसकेको जनाउँदै माओवादीले राज्यलाई बुझाउने प्रतिबद्धता जाहेर गरेपछि रामहरि प्रकरणलाई लिएर राजधानीमा उठेको आन्दोलन मत्थर भएको थियो। तर तत्कालै माओवादीको नेतृत्वमा सरकार बनेका कारण विविध पक्राउ परेनन्। कानुनका आँखामा फरार रहे पनि माओवादी मन्त्रीहरू सहयोगीका रूपमा पाएपछि उनी पुरानै हैसियतले अघिपछि हिँडिरहे। रक्षामन्त्री रामबहादुर थापा बादल आफ्नो गृहजिल्ला चितवन गएका बेला विविधसँग लामो भेटघाट गरेको घटनालाई अखबारले समाचार बनाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसले संसद्मा आवाज उठायो। संसद्मा प्रत्युत्तर दिँदै रक्षामन्त्री बादलले आफूले भेट नगरेको दाबी गरे भने गृहमन्त्री वामदेव गौतमले जनसेनाको शिविरभित्र प्रवेश गर्ने अधिकार नेपाल प्रहरीलाई नभएको बताउँदै अभियुक्त विविध शिविरभन्दा बाहिर आउनेबित्तिकै पक्राउ गर्ने आश्वासन दिएका थिए। तर अभियुक्त विविधले हालै सम्पन्न माओवादीको राष्ट्रिय भेलामा सक्रिय सहभागितामात्र जनाएनन्, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा जनसेनाको अभिमत जाहेर गर्न टोली नेताका रूपमा सक्रिय भूमिका निर्वाह गरे।