Tuesday, May 19, 2009

साम्यवादी एकल निर्णयबाट पार्टी चल्न सक्दैन । शरतसिंह भण्डारी नेता, मधेशी जनअधिकार फोरम

काँग्रेस र एमाले गठबन्धनलाई समर्थन किन गर्नु भयो ?
एनेकपा माओवादीले पटक-पटक गरेको प्रतिबद्धता कार्यन्वयन गरेन र सर्वसत्तावादी ढंगले सरकार चलाउन खोज्यो । माओवादी सहमतीको आधारमा चल्न नचाहेकाले वैकल्पिक गठबन्धनमा लागेका हौं । अर्को कुरा संविधानसभा रहेका २४ मध्ये २२ दल अहिले बनेको प्रजातान्त्रिक गठबन्धनमा छ ।
तपाईहरुसँग सरकारले गरेको सम्झौता नयाँ गठबन्धनले पुरा गर्ला ?
पहिला पनि फोरम न्यूनत्तम साझा समझदारीकै आधारमा सरकारमा सहभागी भएको हो । अहिले पनि न्यूनत्तम साझा समझदारी बनाएरै सरकार जाँदैछौं । सम्झौता पुरा गर्ने प्रतिबद्धता आईसकेको छ ।
फोरम केन्द्रीय समितिले सरकारमा सहभागी हुने निर्णय गरेको छैन नि ?
हाम्रो पार्टीका ५३ मध्ये ३२ सभासदले सरकारमा जाने निर्णय गरिसकेक छन् । जेठ ५ गते बस्न लागेको केन्द्रीय समितिको वैठकले पनि बहुमत सभासदको भावना बुझेर निर्णय गर्नेछ ।
केन्द्रीय समितिले तपाईहरुको विपक्षमा निर्णय गर्यो भने फोरम विभाजित हुन्छ ?
म दोहोर्याएर भन्छु, केन्द्रीय समितिले हाम्रै पक्षमा निर्णय गर्छ । पार्टीलाई संस्थागत निर्णय र लोकतान्त्रिक किसिमले चलाउनु पर्दछ । साम्यवादी एकल निर्णयबाट पार्टी चल्न सक्दैन ।
फोरम अध्यक्ष उपेन्द्र यादवले भने जस्तै बाहिरै बसेर सरकारलाई समर्थन गर्दा के हुन्छ ?
अब बन्ने सरकार बलियो र स्थिर बनाउन फोरम सरकारमा जान लागेको हो । हामी मात्रै हैन माओवादी पनि सरकार सहभागी हुनुपर्छ ।<

Monday, May 18, 2009

संकल्प प्रस्ताव पेश हुन नदिइने

राष्ट्रपतिको प्रधानसेनापति सम्वन्धि निर्णय बिरुद्ध संसदमा संकल्प प्रस्ताव ल्याउने माओवादीको योजनालाई असफल पार्न नेपाली कांग्रेस र एमालेले सहमति गरेका छन् । नेपाली काँग्रेस र नेकपा एमालेले राष्ट्रपतिको प्रधानसेनापतिसम्बन्धि निर्णयविरुद्ध माओवादीलाई संकल्प प्रस्ताव पेश गर्न नदिने सहमति गरेका छन् । जेठ ५ गते बिहान कांग्रेस सभापति गिरिजाप्रसाद कोईराला निवासमा उनी र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलमा माओवादीलाई संकल्प प्रस्ताव ल्याउन नदिने सहमति भएको हो । सरकार गठन नै अहिलेको पहिलो आवश्यकता भएकोले सरकार गठनमा लाग्नु पर्नेमा दुवै नेताको सहमति रहेको छलफलमा सहभागि नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बताए । सिटौलाका अनुसार, दुई नेताबीच माओवादीलाई संसदको गतिरोध रोक्न आग्रह गर्ने पनि सहमति भएको छ ।

सभामुखलाई ३४९ सभासदको हस्ताक्षर

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार बनाउन मधेशी जनअधिकार फोरम सहमत भएपछि २२ दलका ३ सय ४९ सभासदको हस्ताक्षर सभामुख सुवासचन्द्र नेम्वाङ्गलाई बुझाइएको छ । सभामुख नेम्वाङ्गले सरकार गठनको प्रकि्रया छिट्टै शुरु गर्ने बताएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार गठन प्रकि्रया अगाडि बढाउन जेठ ३ गते २२ दलका ३ सय ४९ सभासदद्धारा हस्ताक्षरित पत्र बुझेपछि सभामुख नेम्वाङ्गले कार्यव्यवस्था समितिको वैठक बोलाएर सरकार निर्माण प्रकि्रया अगाडि बढाउने बताएका हुन । हस्ताक्षर सहितको पत्र बुझाउन नेता नेपाल, फोरम सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ता, विजयकुमार गच्छदार लगायतका नेताहरु गएका थिए ।