Friday, January 13, 2012

चिनियाँ प्रधानमन्त्री काठमाडौंमा

काठमाडौ, पुस ३० ( चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ एक दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी ११ बजेर ५३ मिनेट जाँदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।
चाइन एयरको बिशेष विमानबाट आएका जियावओलाई प्रधानमन्त्री डा। बाबुराम भट्टराई, सभामुख सुभाष नेम्वाङ् तथा मन्त्रीहरुले विमानस्थलमै स्वागत गरेका थिए ।
औपचारिक स्वागतपछि चिनियाँ प्रधानमन्त्री जियाबाओ भीआइपी लाउञ्च तर्फ लागेका थिए भने प्रधानमन्त्री भट्टराई, सभामुख नेम्वाङ्सहितका नेताहरु फर्केका थिए ।
प्रधानमन्त्री भट्टराई तथा मन्त्रीहरु सिंहदरवार पुगेको करिव १० मिनेटमा जियावाओ सिंहदरवार पुगेका थिए ।
यसअघि चिनियाँ प्रधानमन्त्रीको भ्रमणका विषयलाई लिएर शनिबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकका निर्णयहरु भने गोप्य सार्वजनिक गरिएको छैन ।
बैठकपछि अन्य कुनै पनि मन्त्रीले संचारकर्मीसंग कुरा गर्न चाहेनन् भने अर्थ मन्त्री वर्षमान पुनले चिनियाँ प्रधानमन्त्रीको भ्रमणका बेला हुनसक्ने आर्थिक सम्झौताहरु बारे छलफल भएको बताएका थिए । चिनियाँ प्रधानमन्त्री जियावाओले प्रधानमन्त्री, सभामुख तथा राजनीतिक दलका नेताहरुसंग सिंहदरवारमै भेटवार्ता गर्नेछन् भने राष्ट्रपति डा‌। रामवरण यादवसंग शितलनिवासमा भेट्बार्ता गर्नेछन् ।
उनको सवारी चलाउनका लागि विमानस्थलदेखि सि‌हदरवारसम्मको बाटो खाली गराइएको थियो । पानीले पखालिएको छ । सडक डिभाइडरहरु राति नै हटाइएको थियो ।