Sunday, October 26, 2008

माओवादी अध्यक्ष छाड्न तयार

सेना समायोजन समितिको अध्यक्ष पद त्याग्न माओवादी तयार भएको छ । कार्तिक ८ गते सिंहदरवारस्थित मन्त्रीपरिषद कार्यलयमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले यो जानकारी दिएका हुन् । सेना समायोजन समिति गठनबारे सहमति जुटाउन प्रधानमन्त्रीले मन्त्रीपरिषदको बैठक स्थगित गरेर नेपाली कांग्रेस नेताहरुलाई भेटेका थिए । माओवादीले पहिले समितिको अध्यक्षमा आफ्नै प्रतिनिधि हुनुपर्ने अडान राखेको थियो ।
प्रधानमन्त्रीसँग करिब एक घण्टा लामो छलफलपछि कांग्रेस उपसभापति पौडेलले संचारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले समितिमा एक जना मन्त्री पनि राख्नुपर्ने प्रस्ताव गरेको जानकारी दिए । समितिमा यसअघि प्रमुख चार दलका प्रतिनिधि मात्र रहने बताइएको थियो । 'तर, हामीले उहाँको प्रस्ताव मानेका छैनौं' पौडेलले भने ।